काठमाडौं-
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी नारायण शाहको उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको उल्लेख गरेकी छिन् ।
पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सबै नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
यसबीच २९९ औँ पृथ्वी जयन्तीका साथै राष्ट्र एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।
काठमाण्डौ, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा विभिन्न संघ-संस्था तथा व्यक्तिले पृथ्वीनारायणको योगदानको स्मरण, झाँकी, र्याली, तस्बिर तथा सालिकमा माल्यार्पण, प्रवचनलगायत कार्यक्रम आयोजना गरी मनाएका छन् ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।