माग १ गतेबाट पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसा शुल्क थपिदै

  हिमाल समाचार
77 Shares

काठमाण्डौ-
कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ ।

कमिसन बढाउन आयल निगमलाई पटक-पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ ।

मासिक ६१ हजार लिटर देखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यावसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।

एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले कमिसन बढाउनुपर्ने एसोसियसनको माग छ ।

हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्नेमा निगमकै सहभागितामा गठित अध्ययन कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप छ । माघ एक गतेदेखि उपभोक्ताबाट थप शुल्क असुल्दा उत्पन्न हुने असहज स्थितिको जिम्मा निगमले लिनुपर्ने पनि एशोसिएसनले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार