सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले लागु गरेको निशाना छाप (लोगो)समावेशी नभएको भन्दै नेपाल शेर्पा संघ, महाकुलुङले आपत्ती जनाएको छ ।
गत पुस २४ गतेको गाउँ कार्यपालिका वैठकले पास गरेर कार्यान्वयनमा ल्याएको निशाना छाप गैर कुलुङ समुदायको अपनत्व नझल्कने गरि ल्याएको भन्दै भत्सना गरिएको छ ।
गाउँ कार्यसमितिका अध्यक्ष पासाङ छिरिङ शेर्पा र सचिब ङिमा शेर्पाले सोमबार जारी गरेको विज्ञप्तीमा स्थानीय सरकारले तयार पार्ने आधिकारिक निशाना छाप समावेशी नभएको भन्दै अस्विकार गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तीमार्फत गैर कुलुङ जातीको पनि प्रतिनिधित्व हुने गरि निशाना छाप संशोधन गरेर सार्वजनिक गर्न माग गरिएको छ । सो कार्यमा ऐक्यबद्धताका लागि आम महाकुलुङबासीलाई आग्रह गरिएको छ ।
गाउँपालिकाले प्रयोगमा ल्याएको निशाना छापको माथिल्लो भागमा नेपालको चन्द्र सुर्य अंकित झण्डा, त्यसमुनी हिमाल र तालतलैया समाबेश गरिएको छ ।
दाँयाबायाँ मयूरको प्वाँख र अल्लोको चित्र प्रयोग गरिएको छ भने ढोलक, चिण्डो, विनायो र मुर्चुङगालाई पनि समाबेश गरिएको छ ।
कुलुङ जातीको बाहुल्यता रहेको महाकुलुङमा शेर्पा, खस, आर्य र दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् ।