परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

  हिमाल समाचार
49 Shares

काठमाण्डौ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको बताइएको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । भारतले गत वर्ष कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ ।

तनावकै बीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाई लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गरेको थियो । उक्त नक्सालाई भारतले अस्वीकार गर्दै आएको छ । सीमा विवाद सुल्झाउने विषयलाई नेपालले विशेष जोड दिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिमा समेत आयोगका बैठक र सीमाको विषयले प्राथमिकता पाइरहेकाले यसप्रति चासो बढेको हो ।

भारतले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली ओर्लनु केही घण्टाअघि मात्र उनको भारत भ्रमणका सम्बन्धमा औपचारिक जानकारी दिएको छ । भारतको विदेश मन्त्रालयले बिहीबार बिहानमात्र एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार