हटेन अन्धविश्वास, तातो फलामले डाम्दा ६४ बर्षिय पुरुषको ज्यान गयो

गुल्मी- अन्धविश्वासलाई हटाउने भनेपनि अझै समाजको कुनाकाप्चामा यसको जरा उखेलिन सकेको छैन । सामाजिक जागरण कमीकै कारण रुढिवादी रुपमा अन्धविश्वास गरेर धामीझाक्रीको भर पर्दा गुल्मीका एक वृद्धले ज्यान गुमाउनु परेको छ ।

गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बुधबार मृत्यु भएको हो । रोग निको पारिदिने भन्दै तातो फलामले डाम्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी पुरूषोत्तम पाण्डेले बताए ।

घटना रेसुंगा नगरपालिका–१, ओख्रेनी तीनधारामा भएको हो । प्रहरीका अनुसार मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मुखियालाई सन्चो बनाउने बहानामा तातो फलामले डामेका हुन् । ढाड दुख्ने समस्या रहेका मुखिया झारफुकका लागि पुस २५ देखि निरन्तरजसो श्रेष्ठको घरमा जाने गरेका थिए ।
प्रहरीका अनुसार मुखियाका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार रामप्रसाद र शान्तिलाले उपचार गर्ने भन्दै खाना खान नदिई फलामे रड, प्लास्टिक पाइप तथा स्टिलको झाँजर तताई रामबहादुरको शरीरका विभिन्न भागमा डामेका थिए । त्यसपछि उनीहरूले आफैं सन्चो भएर उठ्ने भन्दै छाडिदिएको र त्यही क्रममा उनको मृत्यु भएको हो । टोपलालाई पनि श्रेष्ठ दम्पतीले रोग निको पारिदिने बहानामा पुस २४ गते डाम्दा घाइते भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार