सोलुखुम्बु-खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अति सुस्त भएको छ । २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल निर्माणको काम निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले अति नै ढिला गरेको हो । एसएनएस पप्पु कन्ट्रक्सन नेपाल सरकारको कालोसूचीमा राखेको निर्माण कम्पनी हो ।
सम्झौता म्याद नाघेको १८ महिना बित्दा हालसम्म पुलको करिब १५ प्रतिशत काम पुरा भएको सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ का साईड इन्जिनियर रबि शाहले बताए। हाल पुलको राईटव्यांक (उदयपुरतर्फ)को वेल फाउण्डेसनको सिंकिङ अपरेशनको काम भइरहेको सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ ले जनाएको छ ।
सो पुल २०७४ साल भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।
भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजारको लागतमा पुरा गर्नेगरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको हो ।
एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको भौतिक प्रगती भने निराशाजनक रहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए।
धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि कच्ची सडक बनेको भए पनि हालसम्म मोटरेबल पुल नबन्दा प्रयोगबिहीन भएको छ । स्थानीयहरु झोलुंगे पुल प्रयोग गर्दै आएका छन् ।