कम्यूनिष्टहरुको सान्दर्भिकता सकियो – कांग्रेस नेता शेर्पा

  हिमाल समाचार
441 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका नेता तथा सोलुखुम्बुका पुर्व सभापति आङगेलु शेर्पाले नेपालमा कम्यूनिष्टहरुको सान्दर्भिकता सकिएको दाबी गरे ।

गत निर्वाचनमा दुई तिहाइ नजिक जनमत पाएको समयमा पनि जनचाहना अनुसार काम गर्न नसकेको र नेकपा सरकारले संविधानको व्यवस्था विपरित संसद विघटन गरेको भन्दै नेपालमा कम्यूनिष्टहरुको सान्दर्भिकता सकिएको बताए ।

संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा सल्लेरीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता शेर्पाले कम्यूनिष्टविहिन राज्यको परिकल्पना गर्ने आग्रह गरे ।

नेकपा भित्रको आन्तरिक कलहले जनचाहना माथी कुठाराघात गरिएको दाबी गर्दै संसद पुनःस्थापना नभएपनि ओली सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने बताए । उनले भने, ‘ओलीले आफ्नो पार्टीको पक्षमा जनमत आउने माहौल देखे मात्र निर्वाचन गराउछन् ।’

कांगे्रसको विरोध प्रदर्शन पार्टी कार्यालयदेखी नयाँ बजार हुदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो । सोही कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले आन्दोलनकै माध्यमबाट सरकारको असंवैधानिक कदमलाई फिर्ता गर्न बाध्य बनाउने दाबी गरे ।

कार्यक्रममा नेपाली कांगे्रसका नगरसभापति एवम सोलुदुधकण्ड नगरपालिका ४ का वडाअध्यक्ष दावागेलु पाख्रिन ‘राजु’ले सरकारको हरेक गलत कदमका विरुद्ध नेपाली कांगे्रसले एक भएर प्रतिकार गर्ने बताए ।

विरोध कार्यक्रममै विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाली कांगे्रस प्रवेश गरेका छन् । नेपाल महिला संघका अध्यक्ष छिन्डील्हमु शेर्पा, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्मबहादुर नेपाली, नेपाल तरुण दल सोलुदुधकुण्ड नगरपालिकाका संयोजक छितिज तामाङ लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार