जनमतको अपमान भो – कांग्रेस नेता केसी

सयौँ नागरिक कांग्रेस प्रवेश

  हिमाल समाचार
259 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले नेकपाको सरकारले जनमतको अपमान गरेको बताए ।

संसद विघटनको विरोधमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता केसीले नेकपा आफ्ना लागि मात्र काम गर्ने पार्टी प्रमाणित भएको बताए ।
उनले भने, ‘नेकपाका साथीहरुलाई देश र जनता भन्दा आफ्नो स्वार्थ प्यारो छ । त्यसकारण अवधि नपुग्दै मध्यावधि निर्वाचनको घोषणा गरिएको छ ।’

पदमा भागबण्डा नमिल्दा नेकपामा चिरा परेको उनको दाबी थियो । ओली सरकारले आफ्नो स्वार्थका लागि संविधान विपरित संसद विघटन जस्तो असंवैधानिक काम गरेको नेता केसीले दाबी गरे ।

कांग्रेस सोलुखुम्बुका पुर्व सभापति प्रभुराम बस्नेतले नेकपा भित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सनकमा संसद विघटनको असंवैधानिक काम भएको आरोप लगाए ।

उनले भने, ‘जनताको प्रतिनिधिले बनाएको संविधानमा संसद विघटनको व्यवस्था छैन् । यद्यपी, मुद्धा अदालतमा रहेकाले पुनःस्थापनाको आशा मरेको छैन् ।’ अदालतले संविधानसंवत फैसला दिन्छ भन्नेमा विश्वस्त रहेको उनले बताए ।

सोही कार्यक्रममा कांग्रेस नेता प्रकाशसिंह कार्कीले नेकपा भित्रको भागबण्डा र पदीय लुछाचुडीका कारण देश संकटमा परेको बताए । उनले भने, ‘नेकपा नेतृत्व भष्ट्राचारमा लिप्त बनेको छ । अबको निर्वाचनमा कांग्रेसले जितेर हिसाव खोज्नुपर्छ ।’त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

विरोध सभामा कांग्रेस नेता आङछिरिङ शेर्पा, राम बहादुर बस्नेत लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर करिब २५० जना कांग्रेस प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार