काठमाण्डौ-आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता भएको छ । स्वास्थ्यकर्मीहरुले उठाउँदै आएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएपछि सम्झौता भएको हो ।कोरोनाका कारण स्वास्थ्यकर्मीको ज्यान गएमा सरकारले क्षतिपूर्तिस्वरुप रु २५ लाखसम्म उपलब्ध गराउने सहमति भएको छ ।
आइतबार बेलुकी १९ बुँदे सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सम्झौतामा स्वास्थ्यकर्मीहरुलाई कोभिड—१९ लगायत अन्य जटिल रोगको उपचारसहित सेवासुविधा बढाउन सरकार सहमत भएको छ ।
यसैगरी कोभिड संक्रमित भए पश्चात अशक्तता भएका स्वास्थ्यकर्मीहरुलाई मेडिकल बोर्डको सर्टिफिकेट र सिफारिसको आधारमा बिदा तथा उपचार खर्च प्रदान गर्ने र सो सम्बन्धी निर्णय कार्यान्वयनका लागी निजि तथा सामुदायिक स्वास्थ्य संस्था संचालकहरुलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।