काठमाण्डौँ-कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।
२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीमध्ये अहिले दुई पीसीआर परीक्षणमा भाइरसमुक्त देखिइसकेका छन् भने पजिटिभ देखिएका अर्का व्यक्ति लक्षणमुक्त भएको बताइएको छ।
मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा २०७७ साल पौष २७ गते विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा उनीहरूको नमुना हङ्कङ पठाइएको र इमेलमार्फत् नतिजा प्राप्त भएको उल्लेख छ।