खोटाङका खत्री दम्पतीलाई चन्दा उठाएर नयाँ घर

  हिमाल समाचार
154 Shares

खोटाङ- भारी वर्षाका कारण घर भत्किएपछि वि’चल्नीमा परेका खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उहाँकी ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् ।

गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका खत्री दम्पत्तीको घर पुनःनिर्माणका लागि आफन्त तथा शुभेच्छुकले चन्दा सङ्कलन गरेर दुईतले नयाँ घर निर्माण गरिदिएका हुन् ।

स्थानीय अभियानकर्मी थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा सङ्कलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री दम्पतीलाई भूकम्प प्रतिरोधक नयाँ घर निर्माण गरिदिएको जनाइएको छ । अभियानका क्रममा खत्री दम्पतीको घर पुनः नर्माणका लागि स्वदेश तथा विदेशबाट रु तीन लाख ६० हजार ८६२ सङ्कलन भएको थियो ।

घर निर्माणका लागि सङ्कलन भएकामध्ये रु तीन लाख २१ हजार ७०८ मै खत्री दम्पतीको नयाँ घर ठडिएको अभियानकर्मी भट्टराईले बताएका छन् । ।

घर भत्किएपछि आवासविहीन बनेर अरुको घरमा बस्दै आएका खत्री दम्पती स्थानीय बासिन्दाले बनाइदिएका नयाँ घरमा हिन्दू परम्पराअनुसार भित्रिएका छन् ।

स्थानीय बासिन्दाले वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको खत्री दम्पतीको घरको सट्टा भूकम्प पुनःनिर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिदिएका छन् ।

एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पती मात्र बसिरहेका छन् । खत्री दम्पतीको दयनीय अवस्था देखेर आफन्तले घर पुनःनिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए ।

पहिरो पीडित दम्पतीको घर पुनःनिर्माणका लागि साकेला गाउँपालिकाले पनि रु १५ हजार आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताएका छन् ।

-फोटो खोटाङ पोष्टबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार