राष्ट्रपति ट्रम्पको बिदाइ सम्बोधन

  हिमाल समाचार
56 Shares

काठमाण्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका छन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ ।

सम्बोधनका क्रममा ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरे । गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई ट्रम्पले अहिलेसम्म पूर्ण रुपमा स्वीकार गरेका छैनन् ।

केही दिनअघि ट्रम्प समर्थकले अमेरिकी संसद् भवनमा मच्चाएको हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । ट्रम्पको उक्साहटमा उक्त हिंसा मच्चिएको आरोप लागेको थियो । पछि ट्रम्पले उक्त हिंसात्मक प्रदर्शनको आलोचना गरेका थिए । बिदाइ सम्बोधनका क्रममा पनि उनले हिंसात्मक प्रदर्शन स्वीकार्य नभएको बताएका छन् ।

संसद् भवनमा भएको हिंसामा ट्रम्पकै हात रहेको भन्दै अमेरिकी संसद्मा अविश्वास प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा दुई पटक अविश्वास प्रस्तावको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । पहिलो पटक उनलाई चुनाव जित्न युक्रेनसँग साँठगाँठ गरेको आरोपसहित महाभियोग दर्ता भएको थियो । तर त्यो प्रस्ताव अमेरिकी संसद्को माथिल्लो सदन सिनेटबाट अस्वीकृत भएको थियो । महाभियोग प्रस्ताव पारितका लागि १०० सदस्यीय सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।

करिब २० मिनेटको सम्बोधनमा ट्म्पले आफ्नो कार्यकालको उपलब्धि, अमेरिकी नीति, विदेश नीति र आफ्नो विरासतबारे पनि टिप्पणी गरेका छन् । उनले बाइडेनको नाम नलिइकन उनको टिमलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार