सोलुखुम्बु – नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले कम्यूनिष्टलाई मत माग्ने नैतिकता नभएको बताएका छन् ।
बुधबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै कांग्रेस नेता शेर्पाले जनताले विकास र सम्बृद्धिको चाहना बमोजिम ५ बर्षको लागि मत दिएपनि दुरुपयोग गरेकाले मत माग्ने नैतिकता नभएको बताए ।
मध्यावधि निर्वाचनको घोषणाले देशलाई आर्थिक भार थुपार्ने काम गरेको दाबी गर्दै कम्यूनिष्टको औचित्य समेत सकिएको बताए । नेकपाको आन्तरिक विवादले मूलुकले अस्थिरता झेल्नु परेको र जनचाहना माथी घात भएको उनको भनाई थियो ।
वडासभापति सोमराज केसीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा, कांग्रेस नेता नविन थापा, नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्ण बहादुर विश्वकर्मा, नेपाल शिक्षक संघका पुर्वअध्यक्ष डण्डीराम राई, जीवनज्योति मावि नेलेका पुर्वप्राचार्य मणिकर्ण राई लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।