काठमाण्डौ-भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।
विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राबाट खोप बुझ्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाल सरकार र नेपाली नागरिकका तर्फबाट भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ ।देशभरि ५२ हजार महिला स्वयंसेविका सहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।
सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिनेलाई जिल्ला अस्पतालबाट खोप दिइनेछ ।
विभागले यसअघि नै स्थानीय तहमार्फत खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिसकेको छ । यसकै आधारमा मन्त्रालयले खोप पठाउन लागेको हो ।
जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
खोप लगाउन आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।
कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ९ लाख ११ हजारलाई पहिलो चरणमा खोप दिने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।
खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन ।