१० विद्यालयमा पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम,२१ विद्यालयका अभिभावकलाई अभिमुखीकरण

सोलुखुम्बु-लामो समयदेखि सोलुखुम्बुको शैक्षिक विकासमा क्रियाशील रहेको गैरसरकारी सस्था रीड नेपालले सोलुखुम्बुका १० विद्यालयमा पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ ।

पुस्तकालयको प्रयोगद्वारा विद्यार्थीहरुको सिकाइलाई अभिवृद्धि गर्ने उद्देश्यले नमुना विद्यालयको रुपमा छनोट भएका जिल्लाका दस विद्यालयका शिक्षक तथा विद्यालयमा गठन गरिएको बाल क्लवका विद्यार्थीहरुलाई एक दिने तालिम प्रदान गरिएको हो ।

जसमा सोलुदुधकुण्ड नगरपालिकाको गार्मा मावि गार्मा, थुलुङ दुधकोशी गाउँपालिकाको त्रिभुवन विद्दोदय र ठकुमाला आवि, माप्य दुधकोशी गाउँपालिकाको रामपुर आवि, सोताङ गाउँपालिकाको लिढुंगा र सोताङ आवि, महाकुलुङ गाउँपालिकाको पेल्माङ आवि, लिखुपिके गाउँपालिकाको बुढाकिन्जा आवि, नेचासल्यान गाउँपालिकामा सहिद नरनाथ आवि र भुमेश्वरी माविका विद्यार्थी र शिक्षकलाई तालिम प्रदान गरिएको हो ।

गत शैक्षिक सत्रमा शिक्षकलाई पुस्तकालय व्यवस्थापन सम्बन्धी ३ दिने तालिम दिएको रीड नेपालले पुर्नताजगीको रुपमा तालिम दिएको शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए ।

यसैगरी बालबालिकाको पठन सीप विकास गराउने उद्देश्यले सोलुखुम्बुका २१ विद्यालयका अभिभावकहरुलाई रीड नेपालले एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ ।

प्रारम्भिक कक्षा पठन सीप विकास कार्यक्रम अन्तर्गत पठन सीप विकासमा अभिभावकहरुको भूमिकाका विषयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका अभिभावकहरुलाई तालिम प्रदान गरिएको हो ।

बालबालिकाको पठन संस्कार विकास गर्न अभिभावकले खेल्नु पर्ने भूमिका, घरमा बालबालिकाको पढाइलाई व्यवस्थित गर्न समय तालिका निर्माण, बालबालिकाको पढाइलाई थप विकास गर्न र पढ्ने बानीको विकास गर्न टोल पढाइ समूह गठन र परिचालन लगायतका विषयवस्तुमा छलफल गरिएको छ ।

रीड नेपालले ४ वर्षदेखि सोलुखुम्बुका २८ ओटा विद्यालयमा पठन सीप विकास कार्यक्रम संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार