खोटाङ- त्रिधार्मिकस्थल हलेसीमा एक महिनामा ३ लाख २६ हजार ४ सय भेटी संकलन भएको छ ।
गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा हलेसी महादेवस्थान शिव र पार्वती थानबाट २ लाख ५४ हजार ४५० रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकावाट ७१ हजार ९५० रुपैयाँ भेटी संकलन भएको हो ।
कोभिड–१९ को त्रासकाबिचमा पनि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै लाखौं भेटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु ५ हजार ७६० र अमेरिकन २ डलर चढाइएका छन् । यस्तै, हलेसी आएका दर्शनार्थीले ७३.२२० ग्राम चाँदी र १.३१० ग्राम सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
यस अवधिमा त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले १ तोला ४ लालको सुनको सिक्री चढाएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० रुपैयाँ भेटी संकलन भएको थियो । कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा (मन्दिर) प्रवेश गत मंसिर १६ गतेदेखि खुला गरिएको थियो ।