नेकपा विवाद चर्कदै : ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाईयो

  हिमाल समाचार
63 Shares

काठमाण्डौ – नेकपा प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको संसद् विघटन विरुद्धको यसअघि संचालित संघर्षका कार्यक्रम र माघ ९ गतेको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ । त्यस्तै सोमबार नै संघर्षको अर्को चरणको आन्दोलन घोषण गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै, बैठकले पार्टीको प्रदेश, जिल्ला, जनवर्गीय संगठनलगायतमा रिक्त पदमा पदाधिकारीहरुको चयन र अन्य सांगठनिक एकीकरणका काम टुंगाउने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार