काठमाण्डौ-सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्दैछ।
सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्न लागेको हो। त्यसका लागि सातै प्रदेशमा खोप पुर्याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभाग अन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले ४ लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताए।
सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई लगाउन लागेको हो।
कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ। जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन्।
निर्देशक राजभण्डारीले तीन वटा अस्पतालमा एकैपटक खोप लगाउन सुरू गरिएपनि सुरूमा टेकु अस्पतालमा लगाइने जानकारी दिए।
अस्पतालले बनाएको खोप लगाउने सूचीमा निर्देशक राजभण्डारी पहिलो नम्बरमा छन्।