काठमाण्डौ-सरकारले कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहान साढे १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गर्नुभएको हो । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।
खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ ।
नेपालमा पहिलो ‘कोभिशिल्ड’ खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउनु भएको छ । खोप लगाएपछि राजभण्डारीले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो । डराउनुपर्ने कुरा छैन । त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु ।’
पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । ‘कोभिशिल्ड’ खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।