सोलुदुधकुण्ड नगरपालिका र राबा बैंकवीच सहुलियत कर्जा सम्झौता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक बिच सहुलियत कर्जा लगानी गर्नका लागि सम्झौता भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयमा नगरका तर्फबाट मेयर नाम्गेल जाङबु शेर्र्पा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद चापागाई, राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ऋषभ भट्टराई र राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखाका प्रबन्धक चित्र बहादुर खड्काले सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सगरमाथा अञ्चलमा पहिलो पटक सोलुदुधकुण्ड नगरपालिकासंग राष्ट्रिय वाणिज्य बैकले संझौता गरेको हो । यस अघि प्रदेश नम्बर १ अन्तर्गत सहुलियत दरको कर्जा प्रवाह गर्न मोरङको बेलबारी, शिवसत्ताक्षी र संखुवासभाको खाँदवारी नगरपालिकासंग वैंकले संझौता गरेको राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख भट्टराईले बताए । चाडै कर्जा प्रवाह गर्न सुरु गर्ने उनको भनाई छ ।

नगरपालिका र राष्ट्रिय वाणिज्य बैंंक बिच सहुलियत दरको कर्जा प्रवाह गर्न सम्झौता भएपछि नगरपालिकाबासीले सहुलियत ब्याजदरमा कर्जा पाउने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए । नगरपालिकाको पहलमा एकीकृत सहुलियत कर्जा कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैकले अधिकतम २.७४ प्रतिशत ब्याजदरमै कर्जा दिन लागेको हो । व्यावसायिक कृषि तथा पशुपंक्षी,शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास,उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था सरकारले गरेको गरेकाले नगरपालिकाका नागरिकलाई यो सुविधा उपलब्ध गराउन लागिएको मेयर शेर्पाको भनाई छ । मेयर शेर्पाले विषेश गरि बेरोजगार रहेका र उद्यम गर्न चाहाने युवालाई यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । निजी बैक भन्दा सस्तो व्याजदरमा कर्जा प्रवाह हुने उनले बताए ।

महिला उद्यमशीलतामा १.७४ प्रतिशत ब्याजमा अधिकतम १५ लाख सम्म कर्जा बैंकले उपलब्ध गराउने र पुरुषका हकमा २.७४ ब्याजदरमा कर्जा उपलव्ध हुने छ । नगद १५ लाख सम्म बैंकले बिना धितो कर्जा स्थानीय पालिकाको जमानतमा दिने छ । यसका अलवा कर्जा रकमको अनिवार्य विमा हुनुपर्ने प्रावधान छ । १५ लाख भन्दा माथि कर्जा आवश्यक परेमा अचल धितो बन्धक राख्नुपर्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार