काठमाण्डौ-ट्रान्सपरेन्सी इन्टरनेशनलले विहीबार रिर्पोट सार्वजनिक गरेको छ । जसअनुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको १ सय १७ औँ स्थानमा छ । एक सय ८० देशमध्ये डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीको पहिलो नम्बरमा छन् भने सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा साउथ सुडान र सोमालिया रहेका छन् । डेनमार्क र न्युजिल्याण्डले कुल एक सयमा ८८ अङ्क पाएका छन् । सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेका दक्षिण सुडान र सोमालियाले भने १२ अङ्क पाएका छन् ।
दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरि २४ औँ स्थान, माल्दिभ्स ४३ अङ्क प्राप्त गरि ७५ औँ स्थान, भारत ४० अङ्क प्राप्त गरि ८६ औँ स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरि ९४ औँ स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरि एक सय २४ औँ स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरि एक सय ४६ औँ स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरि १६५ औँ स्थानमा रहेका छन् ।
यस्तै, चीन ४२ अङ्क प्राप्त गरि ७८ औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि हरेक वर्ष रिपोर्ट सार्वजनिक गर्दै आएको छ भने यसमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको थियो ।
गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो । नेपालमा गरिएको सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको देखाएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको शक्तिकरण, खुला तथा पारदर्शी ठेक्का प्रक्रिया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्याङ्क सम्प्रेषण र सूचनामा पहुँचजस्ता सुझावसमेत दिएको छ ।