काठमाडौँ- निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार विहान साढे ११ बजे छलफलमा बोलाईएको जानकारी दिए ।
नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी विषयमा छलफल हुने श्रेष्ठले बताए । अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि ५/५ जना सहित छलफलमा आउन आयोगले भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ ।
यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।