आज शहीद दिवस, शहीदहरुप्रति श्रद्धाञ्जलि

  हिमाल समाचार
105 Shares

काठमाडौँ- आज शहीद दिवस । प्रजातन्त्र स्थापनाका लागि ज्यान आहुती दिने चार शहीदको सम्झनामा विशेष कार्यक्रम गरी मनाइदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। लैनचौरस्थित शहीद पार्क पुगेर प्रधानमन्त्री ओलीले शहीदका शालिकमा माल्यार्पण गरेर श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताए। उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए।

सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको सहभागिता थियो ।

सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।

देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शुक्रबार देशभर शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइन्छ। विक्रम संवत १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी नागरिकलाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुको खरीको रूखमा झुन्ड्याइएको थियो ।

त्यहीवर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार