वाग्मती प्रदेशसभाको बैठक ‘विशेष कारण’ ले स्थगित

  हिमाल समाचार
42 Shares

काठमाडौँ- सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भए पनि आइतबार राति स्थगित भएको सूचना प्रदेशसभामा टाँसिएको थियो ।

पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको बैठकमा टेबुल गरिएको थियो । अविश्वास प्रस्तावका विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराएको नेकपाको दाहाल–नेपाल पक्षले प्रदेशसभा बैठक स्थगित गरिएको विषयमा पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको संसदीय दलका उपनेता सालिकराम जम्मकट्टेलले जानकारी दिए । मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार