बाइडेनद्वारा आप्रवासीसम्बन्धी ३ वटा कार्यकारी आदेश जारी

  हिमाल समाचार
63 Shares

काठमाडौं- डोनल्ड ट्रम्प प्रशासनले ल्याएको नीतिका कारण छुटिएका आप्रवासीका परिवारलाई एक गर्ने गरी नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले ३ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अवैध रुपमा मुलुकमा रहेका र प्रवेश गर्न चाहने आप्रवासीलाई निरुत्साहीत गर्न भन्दै ट्रम्प प्रशासनले मेक्सिकोको सीमाबाट आफ्नो मुलुक प्रवेश गर्न खोज्ने आप्रवासीलाई छोराछोरीबाट अलग पार्ने नीति लिएको थियो ।

बाईडेनको नयाँ आदेशअनुसार आफ्नो परिवारबाट छुटिएका करिब ७ सय बालबालिकालाई पुनस् एक गराउन विशेष कार्यदल गठन गरिनेछ । यस्तै, अमेरिकामा शरण लिन चाहनेमाथि लागेको प्रतिबन्ध, आप्रवासीलाई बैधानिकता दिने प्रक्रियामा हुँदै आएको ढिलाई र अन्य मुलुकमा गर्दै आएको सहयोग स्थगित जस्ता ट्रम्पको आप्रवासीसम्बन्धी नीति पूनरावलोकन गर्ने आदेशमा उल्लेख छ ।

सन् २०१७ देखि २०१८ सम्मको अवधिमा सीमा क्षेत्रबाट अवैध रुपमा प्रवेश गर्न खोज्ने परिवारका ५ हजार ५ सय बालबालिकालाई ट्रम्प प्रशासनले अलग पारेको थियो । सन् २०१८ को अप्रिलमा अवैध आप्रवासीका लागि शुन्य सहनशिलताको नीति लागू भएपछि मेक्सिकोबाट अवैध रुपमा प्रवेश गर्नेहरुमाथि आपराधिक मुद्दा दायर गरी जेल चलान गरिएको थियो ।

बालबालिकालाई भने जेल पठाउन नमिल्ने भएपछि परिवारबाट अलग गरी आश्रयस्थल वा हेरचाह केन्द्रहरुमा पठाइएको थियो । त्यस्ता आश्रयस्थलहरु सुरक्षित नभएको भन्दै ट्रम्पको चर्को आलोचना हुँदै आएको थियो । पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनले पनि कागजात नपुगेका केही बालबालिकालाई परिवारबाट अलग पारेको थियो । तर त्यो दूर्लभ घटना रहेको बीबीसीले उल्लेख गरेको छ । ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार