कोभिडका कारण मानसिक समस्या भएका बिरामी बढे

  हिमाल समाचार
28 Shares

काठमाण्डौ- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् ।

मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताए ।

विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । सो अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको सङ्ख्या १० देखि ३० प्रतिशतमा झरेको थियो । मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ ।

अस्पतालमा महामारीअघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा हाल लगभग एक हजारले सो सेवा लिन थालेका डा शाक्यको भनाइ छ । अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा शाक्यले औल्याउनुभयो । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम सङ्ख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार