नागरिक अगुवाहरूको काठमाडौंमा मार्चपास

  हिमाल समाचार
49 Shares

काठमाडौँ- नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् । बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप मार्चपास निकालेका हुन् ।

संवैधानिक निकायहरूमा गरिएको नियुक्ति अवैधानिक रहेको उनीहरूको भनाइ छ । नागरिक अभियन्ता पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट राष्ट्रपति कार्यालयसम्म तय गरिएको मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन् । तर प्रहरीले अगाडि बढ्न नदिएपछि उनीहरू अहिले महाराजगन्ज, पानीपाेखरीमा सभा गरिरहेका छन् ।

विभिन्न संवैधानिक निकायका अध्यक्ष र सदस्यका रूपमा सिफारिस गरिएकाहरूलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । शीतल निवासमा उनीहरुलाई शपथ ग्रहण गराइएको थियो ।

सरकारले गरेको सिफारिस र नियुक्ति विधिविपरीत रहेको भन्दै नेकपाकै दाहाल–नेपाल समूहलगायत दलहरूले पनि विरोध गर्दै आएका छन् ।

नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध पनि प्रदर्शन गर्दै आएका छन् । केही दिनअघिको नागरिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै उनीहरु थप आन्दोलित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार