ओली नेतृत्वको नेकपाले बृहत् जनसभा

  हिमाल समाचार
63 Shares

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि बृहत् जनसभा आयोजना गर्दैछ । त्यसका लागि नारायणहिटी दरबारको गेट अगाडि बाटोमै मञ्च तयार गरिएको छ । दरबारमार्गका बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको तस्बिर टाँगिएका छन् ।

त्यस्तै केशर महलसम्म पनि लाउड स्पिकरहरु राखिएको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्किरहेको र त्यो जुलुस सभास्थलमा पुग्ने नेकपाले जनाएको छ ।

शुक्रबारको आमसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता सत्यनारायण मण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

जनसभामा काठमाडौँ उपत्यकाका साथै बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ताहरु र समर्थकहरु सहभागी हुने बताइएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता एवं संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ यस समूहले जनसभा गर्न लागेको हो । नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आम जनसमुदायमा पार्टीको सन्देश दिन सभा आयोजना गरेको बताए ।

उनले सभा आयोजना एवं परिचालन गर्न पार्टीका काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी पनि गठन गरिएको जानकारी दिए ।

आजकाे जनसभाका लागि काठमाडौँ उपत्यकाका त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, बागबजार, प्रदर्शनी मार्ग, घण्टाघर, न्यूरोड, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निस्केको जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार