उपप्रधानमन्त्री तथा नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमै धक्का दिएर हटाउन खोज्दा अस्थिरता पैदा भएको बताएका छन् । उनले सबै प्रतिकुलतासँग जुधेर मुलुकमा राजनीतक स्थायित्व कायम गरिने उनको भनाइ छ ।
ओली पक्षद्वारा आज काठमाडौंमा आयोजित जनसभालाई सम्वोधन गर्दै पोखरेलले भने, ‘हिजोदेखि नै कसैको मृत्यूमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो । त्यसलाई सघाउन कुण्ठा र ईश्र्यामा बाँचेको माधव नेपाल प्रवृत्तिको गठवन्धन भयो । त्यसको परिणाम अराजकता सिर्जना गर्ने कोसिस गरियो । तर, यो प्रयासलाई हामी सफल हुन दिने छैनौं ।’
हिजो प्रचण्ड-नेपाल पक्षले गरेको नेपाल बन्दमा एक मजदुरको ट्याक्सी जलाइएको घटनाको पोखरेलले निन्दा गरे । जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्ने उनले प्रतिवद्धता जनाए ।
पोखरेलले भने, ‘नेपाल बन्दको नाममा जनतालाई दु:ख दिने कुराको निन्दा र भर्त्सना गर्दछु । हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेले ट्याक्सी चलाएर गुजारा गर्नेमाथि सांघातिक हमला गरियो, म मन्त्रीको नाताले यही सभामार्फत भन्न चाहन्छ, केपी ओलीले नेतृत्वको सरकारले यसको क्षतिपूर्ति गर्ने छ ।’