३२३ जना विद्यार्थीहरुलाई रीड नेपालले दियो छात्रवृति

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु-रीड नेपालले सोलुखुम्बुका ३२३ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।

८ वर्षदेखि वितरण गर्दै आएको छात्रवृतिलाई यो वर्ष पनि निरन्तरता दिइएको हो । आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट बन्चित भएका बालबालिकाहरुलाई विद्यालयमा नियमित गराउने उदेश्यले छात्रबृत्ति प्रदान गरिएको हो ।

चालु आर्थिक वर्ष २०७७–७८ मा जिल्लाका ७ स्थानीय तहका कक्षा १० सम्म अध्यनरत विद्यार्थीहरुलाई वार्षिक छात्रबृत्ति कार्यक्रम अनुसार झोला, ज्याकेट, कपी मास्क, सेनिटाइजर, टुथपेस्ट र ब्रस वितरण गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

छात्रवृत्ति पाउनेमा सोलुदुधकुण्ड नगरपालिकामा ४३, नेचासल्यानमा ४८, थुलुङ दुधकोशीमा ९१, माप्यदुधकोशीमा ४८, महाकुलुङमा ३५, सोताङमा ३९ र लिखुपिके गाउँपालिकामा १९ विद्यार्थी छात्रवृत्ति पाएका हुन् । छात्रवृति अन्तरगत सामाग्री वितरण गरेको रीड नेपालले नगद भने केही समयपछि वितरण गर्नेछ ।

चन्द्रज्योति मावि भकान्जेमा कक्षा ९ मा अध्यनरत छात्रा तारादेवी भुजेलले छात्रवृतिले आफ्नो पढाइमा महत्वपुर्ण सहयोग पुगेको बताइन् । नेचास्थित केदार माविमा अध्ययनरत संगीता नेपालीले पढाइलाई निरन्तरता दिन पाएकोमा रीड नेपाललाई धन्यवाद दिइन् ।

थुलुङ दुधकोशी गाउँपालिका २ कांगेलका अभिभावक रत्न बहादुर खत्रीले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण छोरालाई विद्यालय पठाउन समस्या भएको बेला रीड नेपालले छात्रवृति दिन थालेपछि सहज भएको बताए । रीड नेपालले प्राविधिक धारबाट उच्च शिक्षा आर्जनका लागि गार्मा माविमा गत बर्ष देखि ५ जना छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार