खोटाङ – खोटाङका स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतले बाल अधिकारको प्रत्याभूति र सुनिश्चितताका लागि पाँच बुँदे प्रतिवद्धता जनाएका छन् ।
अधिकार मञ्च नेपाल इलाम र जनसेवा समाज नेपाल जालपाको व्यवस्थापन एबं जिल्ला समन्वय समिति खोटाङको आयोजनामा बिहिबार दिक्तेलमा भएको वाल अधिकारको सुनिश्चितताका लागि जिल्ला स्तरिय छलफलमा सहभागी जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं महिला तथा वालबालिका शाखाका प्रमुखले कार्यविधि बनाएर मात्र बालबालिका सम्वन्धी कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
हालसम्म बिना कार्यविधि बजेट बिनियोजन गरेर बालबालिका सम्वन्धी कार्यक्रम गर्दै आएका स्थानीय तहले आगामी दिनमा बालबालिका सम्वन्धी नीति, कार्यविधि र रणनीति बनाएर लागू गर्ने प्रतिवद्धता जनाएको मानव अधिकार मञ्च नेपाल अन्तरगतको वाल अधिकारका लागि ऐक्यवद्धता परियोजनाका कार्यक्रम संयोजक रुद्र थेवेले बताए ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं महिला तथा वालबालिका शाखाका प्रमुखले बाल अधिकारको प्रत्याभूति र सुनिश्चितताका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह र सबै सरोकारवाला बिच समन्वय र सहकार्यका आधारमा काम गर्ने, स्थानीय तहमा बाल अधिकारको सुनिश्चितताका लागि बाल अधिकार सम्वन्धी ऐन २०७५ ले व्यवस्था गरेका प्रावधानहरुलाई कार्यान्वयन गर्ने, नेपालको संविधानले प्रदत्त गरेका बालबालिका सम्वन्धी अधिकारहरुको सम्मान गर्दै गत पुस २८ गते बिराटनगरमा सम्पन्न बालअधिकारको सुनिश्चितताका लागि प्रदेश स्तरिय कार्यशालाको घोषणापत्रको कार्यान्वयन गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।
यस्तै, मानव अधिकार मञ्च नेपाल, जनसेवा समाज नेपाल एबं सम्वन्धित गैससहरुले बाल अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जुटाइएको मञ्चका सहजकर्ता मनकुमार बराईलीले बताए ।
हरेक स्थानीय तहले बिना कार्यविधि बालबालिका सम्वन्धी कार्यक्रम सञ्चालन गर्दैआएका छन् । कार्यविधि नवनाई बालबालिका सम्वन्धी कार्यक्रम गर्दा महालेखा परीक्षकले स्थानीय तहको नाममा बेरुजू देखाउने गरेको छ ।
कार्यक्रममा स्थानीय तहमा बालबालिका सम्वन्धी निर्माण गर्नुपर्ने कार्यविधिका विषयमा छलफल केन्द्रित गरिएको मानव अधिकार मञ्च नेपालका प्रशासन तथा मानव संशाधन अधिकृत भक्त थामीले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय वाल अधिकार परिषदका समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गरेका थिए ।