काठमाडौँ — सरकारी वकिलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्तिको बाटो नदेखाएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको पक्षमा बहस गर्न संवैधानिक इजलासमा आएका सहन्यायाधिवक्ता उद्धव पुडासैनीले अहिलेको अवस्थामा अर्को प्रधानमन्त्री नियुक्त हुने संविधानले परिकल्पना नै नगरेको दाबी गरे ।
आइतबारको सुनुवाइको सुरुमै बहसमा आएका पुडासैनीले भने,’प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा गरेबाहेक अर्को मन्त्रिपरिषद्को बाटो अहिलेको अवस्थामा संविधानले दिएको छैन ।
अहिलेको व्यवस्थाअनुसार प्रधानमन्त्री नै संसद्, कार्यकारी र राष्ट्रको नेता भन्दै पुडासैनीले प्रधानमन्त्रीलाई संसदीय व्यवस्थामा निर्णय लिने अधिकार रहेको जिकिर गरे । अमेरिकामा राष्ट्रपतीय व्यवस्था भएकाले त्यहाँ राष्ट्रपतिले संसद् विघटन गर्न नसक्ने तर नेपालमा संसदीय व्यवस्था भएकाले प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार संविधानमा नलेखिएको भए पनि हुने उनले दाबी गरे ।
‘अमेरिकी राष्ट्रपतिलाई संसद् विघटन गर्ने अधिकार हुन्न । तर नेपालमा संसदीय व्यवस्था मानेकाले प्रधानमन्त्रीलाई त्यो अधिकार रहेको छ’उनले भने