किन घटाइयो फेवातालको पानी ?

  हिमाल समाचार
56 Shares

पोखरा- फेवातालको पानी १ मिटर घटाईएको छ ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले तालको बाँध मर्मत गर्न पानी घटाएको जनाएको छ।

तालको बाँधमा राखिएको रवरशील काम नलाग्ने अवस्थामा पुगेको कार्यालय प्रमुख किरण आचार्यले बताए। रवरशील काम नलाग्ने अवस्थामा पुगेकै कारण बाँधबाट धेरै पानी चुहेर बगेको थियो।

अध्ययनका क्रममा बाँध भन्दा पछाडिको भाग पनि काम नलाग्ने गरी भत्किएको पाइएको आचार्यले बताए। गत वर्ष गरेको अध्ययन अनुसार मर्मत सम्भारका लागि तालको पानी घटाएको उनले जानकारी दिए।

बाँध मर्मत गर्न अहिले पनि पानी धेरै भएको छ। अझै ३ मिटर गहिरो तालमा डुबेर बाँध मर्मत गर्नुपर्ने अवस्था छ।

तालको पानी २ मिटर घटाउने लक्ष्य लिए पनि फेवाताल घुम्न आउने पर्यटक र स्थानीयले मन दुखाएकै कारण पानी नघटाई मर्मत अघि बढाएको आचार्यले बताए।

अब १ मिटर पानी घटाउँदा फेवातालको आधा भन्दा बढी भू–भाग जमिन देखिने अनुमान गरिएको छ।

मर्मत सम्भारपछि १ महिना भित्रै तालको पानी पानी भर्ने योजना रहेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार