सदरमुकामसंग कहिले जोडिन्छ लिखुपिके ?

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिका सदरमुकाम सल्लेरी सँग सडक सञ्जालले जोडिन सकेको छैन । स्थानीय सरकार गठन भएको तिन वर्ष भईसक्दा समेत अझ लिखुपिके गाउँपालिका सदरमुकाम सँग सडक सञ्जालले जोडिएको छैन ।

सिधा सडक नबन्दा लिखुपिकेका नागरिक आठ घण्टा पैदल यात्राबाट सदरमुकाम सल्लेरी सम्म आउने धाउनुपर्ने बाध्यता रहेको लिखुपिके गाउँपालिका १ वडाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बताए ।

सल्लेरी आइपुग्न रामेछापको मन्थली–खुर्कोट–घुुर्मी–ओखलढुंगा हुदै गाडी रिजर्भ गर्नुपर्छ । लिखुपिकेका नागरिक नागरिकता र राहदानी बनाउन सल्लेरी नै आउनुपर्छ । गाडी नचढ्ने हो भने घण्टौ पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

सल्लेरीबाट लामजुरा हुँदै लिखुपिके जोड्ने सडकको काम लिखुपिके गाउँपालिकाले लामजुरा सम्म सकेको छ । तर सोलुदुधकुण्ड नगरपालिकाको भूभागबाट लामजुरा सम्म पुग्नका लागि ८ किलोमिटर सडक ट्रयाक ओपन गर्न बाँकी रहेको छ ।

आर्थिक बर्ष २०७६–७७ मा निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट ५० लाख बजेट विनियोजन गरेको र कार्यान्वयनको जिम्मा नगरपालिकालाई दिइएको थियो । सो रकमबाट साढे २ किलोमिटर सडक विस्तार गरिएको छ ।

सोही सडक विस्तारको कामलाई सम्पन्न गर्न चालु आर्थिक बर्षमा पनि निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट २० लाख बजेट विनियोजन गरेको निर्वतमान प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले बताए ।

सडक विस्तार क्षेत्रमा घना जंगल परेकाले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन निर्माणको कामका लागि काम रोकिएको र इआइए प्रतिवेदन स्विकृत पछि सडक विस्तारलाई तिव्रता दिइने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार