काठमाडौँ- भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बे’प’त्ता छन् ।
हराइरहेका नेपालीको सूची
१. सोहन चौधरी, टीकापुर (कैलाली)
२. शंकर चौधरी, नेपाल
३. विष्णु मल्ल, नेपाल
४. गणेश नेपाली, नेपाल
५. जंगबहादुर नेपाली, नेपाल
६. गोविन्द सिंह, नेपाल
७. रणजित सिंह, नेपाल
८. शंकर, नेपाल
९. मकर सिंह, नेपाल
१०. मदन सिंह, नेपाल
११. रमेश, नेपाल
उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएका थिए ।
पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरु उत्तराखण्डको जलविद्युत् र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरुमध्ये थप नेपालीहरु पनि हुनसक्ने आशंका गरिएको छ ।
आइतबार बिहान उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रेणी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुऱ्याएको छ ।
हिम नदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको बताइएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटिपिसि जलविद्युत् परियोजनामा बढी क्षति पुऱ्याएको थियो ।