अन्तराष्ट्रिय समर्थन खोज्दै दाहाल-नेपाल समूह

  हिमाल समाचार
14 Shares

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अन्तरक्रियामा दाहालले ओलीका क्रियाकलापले नै नेपाली जनताले त्यस्तो प्रश्न उठाएको बताएका हुन् ।

‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,’ उनले भने, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ?’

नेपालमा रामको जन्म भएको प्रमाणित भए र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने सबैभन्दा खुशी आफूलाई हुने उनले दाबी गरे । ‘यदि नेपालमा अयोध्या प्रमाणित हुन्छ, रामको जन्म प्रमाणित हुन्छ भने र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने म भन्दा खुशी त अरु कोही हुनै सक्दैन । हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका छौं । धर्मप्रति हाम्रो कहिँकतै नकारात्मकता छैन । राज्य पो धार्मिक निरपेक्ष हुनुपर्छ भनेको हो । जनताको धार्मिक आस्थालाई सम्मान गर्न पर्दैन भन्ने हामी कसैको हैन,’ दाहालले भने ।

असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट घोषणा भएको निर्वाचन भइहाले त्यो पनि असंवैधानिक नै हुने उनले बताए ।ओलीले संविधान, लोकतन्त्रलाई डिरेल गर्न खोजेपनि त्यो सफल नहुने दाहालले बताए ।

ओलीको प्रतिगामी कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस भएको दाहालले बताए । ‘अन्तर्राष्ट्रिय समर्थन जुटाउन हाम्रो अलग अलग कुरा भइराखेको छ । भारत, चीन, अमेरिका, युरोपियनसँग पनि कुरा भइराखेको छ । हामीले सार्वजनिक अपिल पनि गरेका छौं । नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेका छौं,’ उनले भने ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार