खोटाङ – खोटाङ यातायात प्रालिले पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सडक यात्रा गर्ने यात्रु तथा यातायात व्यवसायीको हितमा कलम चलाइरहेको भन्दै खोटाङ यातायात प्रालिले पत्रकार राईलाई ५ हजार राशीको पुरस्कार प्रदान गरेको हो ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रबार भएको दोश्रो वार्षिक साधारण सभाको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले पत्रकार राईलाई चेक र प्रशंसा–पत्रका साथमा मायाँको चिनो हस्तान्तरण गरेका छन् ।
जिल्लामा रहेर यातायात क्षेत्रका विषयमा तथा यात्रु र व्यवसायीका हितमा निष्पक्ष, ईमान्दार र भरपर्दो कलम चलाइरहेको भन्दै पत्रकार राईलाई पुरस्कृत गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
प्रालिले आफ्नो साधारण सभा तथा अधिबेसनको अवशरमा जिल्लाका एक जना पत्रकारलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
‘खोटाङको लगानी, खोटाङकै यात्रा, सुरक्षित यात्राको हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित भएको साधारण सभा तथा दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतनामुलक प्रशिक्षण उद्घाटन समारोहमा खोटाङ यातायात प्रालिले अग्रज पत्रकार कृष्ण आचार्यलाई पनि सम्मान गरेको छ । पत्रकार आचार्यलाई नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष एबं प्रालिका निवर्तमान अध्यक्ष गणेशविक्रम शाहीले सम्मान–पत्र र मायाँको चिनो सहित सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रालिका निवर्तमान अध्यक्ष एबं नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष शाहीलाई दोसल्ला ओढाएर सम्मान–पत्र र मायाँको चिनो सहित सम्मान गरिएको छ ।
प्रालिका प्रमुख सल्लाहकार बुद्धिविनोद लुईटेल, निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, बसका उत्कृष्ट चालक वावुराम थापामगर र जीपका उत्कृष्ट चालक प्रकाश तामाङलाई सम्मान गरिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया, काउण्टरका कर्मचारी अमिर अधिकारी, सूर्यकुमार हिङमाङ र सन्तोष बस्नेत, प्रालिका पूर्व उपाध्यक्ष भीम राई, पूर्व कोषाध्यक्ष सन्तोषबाबु आचार्य र पूर्वसदस्य दानवहादुर श्रेष्ठलाई पनि सम्मान गरेको छ ।
उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजाल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेकपाका नेता संगीन राई, चर्चवहादुर बिश्वकर्मा, कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, जनता समाजवादीका नेता टंक थापा, उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई लगायतले सम्मान–पत्रका साथमा मायाँको चिनो प्रदान गरेका थिए । रोदिकखबर