पछिल्लो समय ‘सालको पातको टपरी हुनी’बोलको दोहोरी गीतको अप्रत्याशित सफलताले लोक गायनमा सफल मानिएका कुलेन्द्र विश्वकर्माको लोकप्रियता शिखरमै पुग्यो । उनै कुलेन्दले शनिबार दोहोरी गीत ‘जुनकिरी’बजारमा ल्याएका छन् । के यो गीतले ‘सालको पातको टपरी हुनी’गीतको साख जोगाउला ?
त्यसो त, ‘सालको पातको टपरी हुनी’बोलको दोहोरी गीतले रिलिजको ३ महिनापछि बजार पिटेको थियो । जुन मेहनत गीत र भिडियोमा देखिन्थ्यो त्यस अनुसार गीतको सफलता स्वभाविक थियो । दोहोरी गीतले डिजिटल बजारमा करोड भ्यूज नपाइरहेको बेला ‘सालको पातको टपरी हुनी’ले इतिहास रच्यो । त्यसपछिका राम्रा अधिकांश दोहोरी गीतले करोड क्लबको स्वाद चाखेका छन् ।
सोही गीतका निर्माता तथा गायक कुलेन्द्रले शनिबार ‘जुनकिरी’बोलको दोहोरी गीत बजारमा ल्याएका छन् । ‘सालको पातको टपरी हुनी’को टिमलाई छाडेर नयाँ टिमवर्कमा गीत तयार पारिएको छ । ‘सालको पात’ले पाएको लोकप्रियतालाई ‘जुनकिरी’ले धान्ला ?
कुलेन्द्र भन्छन्, ‘गीत ठूलो मेहनतको साथ तयार पारेका छौ । गीत राम्रो बनेको दाबी गर्छौ । ‘सालको पात’को साख जोगाउला, के गर्ला, मै अनविज्ञ छु ।’ उनले ‘सालको पात’गीत सुनेका दर्शक–स्रोता माझ गीत पुगोस् भन्ने चाहना सुनाए ।
‘सालको पात’ले दिलाएको ऐतिहासिक सफलता अन्य सृजनाले देला–नदेला तर राम्रो काम गर्ने कोशिसमा जहिले रहने उनले बताए ।
नवराज पन्तको गीत र बसन्त थापाको संगीतमा विष्णु माझीसंग ‘सालको पात’गाएका कुलेन्द्रले यो पटक प्रल्हाद सुवेदीको गीत र योगेश काजीको संगीतमा मेलिना राईसंग ‘जुनकिरी’गाएका छन् । ‘सालको पात’लाई यूटुवमा ६ करोड ७० लाख बढिले हेरेका छन् ।
कुलेन्द्रले टिम किन फेरे ? उनी भन्छन्, ‘व्यवसायिकतामा टिम फेरबदल हुनसक्छ । तर मन फेरेका छैनौ । यस्लाई सामान्य मान्नुपर्छ । बसन्त थापा र प्रल्हाद सुवेदीसंगको सहकार्यमा छिट्टै नयाँ काम बाहिर ल्याउने तर्खरमा छौ ।’ यो टिमले ‘जोगीको भेषैमा’ र ‘नजाउ है सानु पधेँरीमा’ दोहोरी गीतमा सहकार्य गरेका थिए । जुन गीतलाई सफलता मिलेको थियो ।
कुलेन्द्रले डिजिटल प्लेटफर्म पनि बदलेका छन् । ‘सालको पात’बसन्त थापा (कुलेन्द्रका मित्ज्यू)को च्यानलबाट रिलिज गरेका थिए । यो पटक आफ्नै च्यानललाई अघि बढाएका छन् । आफ्नो सृजना आफ्नै च्यानलबाट बजारमा पठाउने डिजिटल ट्रेनलाई उनले पनि समातेका छन् ।
जनवरी अन्तिममा ल्याउने तयारी गरेपनि प्राविधिक कमजोरीका कारण रिजिल धकलिएको थियो । गीतको बारेमा खुलेर कुरा गरेका कुलेन्द्रले लगानीको बारेमा भने प्रष्ट बोलेनन् ।
उनका ‘जोगीको भेषैमा’, ‘नजाउ है सानु पधेँरीमा’, ‘रुमाल हल्लाई हल्लाई’लगायतका दर्जनौ दोहोरी गीत लोकप्रिय छन् । उनी नाच्नमा सौख राख्छन् ।
‘सालको पात’मा नाचेका उनी ‘जुनकिरी’मा पनि नाचेका छन् । अफर आउने गीतमा पनि उनी नाच्न पछि पदैनन् । ‘म नाचेको कति सुहाउछ । म कति फिट देखिन्छु, थाहा भएन तर नाच्ने रहर चाँही बेग्र छ ।’ उनले भने ।
मौसम हिमालीको निर्देशनमा तयार भएको ‘जुनकिरी’मा नायिका निता ढुंगानासंग कुलेन्द्र छमछमी गरेका छन् ।