पर्यटकिय पुर्वाधार निर्माणका लागि पत्ताले र सुकेपोखरी छनौट

  हिमाल समाचार
301 Shares

सोलुखुम्बु – पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उदेश्यले सोलुखुम्बुका दुई वटा गन्तव्यस्थल छनौट भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सोलुखुम्बुको पर्यटकिय स्थल पत्तालेमा पार्क निर्माण र सुकेपोखरी क्षेत्रलाई गन्तव्य सुचीमा समावेश गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको सिफारिसमा मन्त्रालयको ४ करोड ५५ लाख र नगरपालिकाको २ करोड ४५ लाखको लागत साझेदारीमा पर्यटकिय पार्क निर्माण हुने मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । आन्तरिक तथा बाह्यक पर्यटकको बढवाका लागि पार्क निर्माण गर्ने द्येयले नगरपालिकाले सिफारिस गरेको थियो ।

पार्कमा बृक्षारोपण, बगैँचा, शौचालय लगायतका संरचना निर्माण हुने मेयर शेर्पाले बताए । सगरमाथा लगायतका दर्जनौ हिमश्रृङखला अवलोकन गर्ने स्थानका रहेको पत्तालेमा आवश्यक भौतिक पुर्वाधारको विकास गरि पर्यटनलाई नगरपालिकाले बढवा दिन लागेको हो ।

त्यस्तै, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबु स्थित सुकेपोखरी क्षेत्र पनि पर्यटन प्रवर्द्धन गर्नका लागि छनौटमा परेको छ । सुकेपोखरीको समग्र विकासका लागि पर्यटन मन्त्रालयले २ करोड ८० लाख र गाउँपालिकाले १ करोड २० लाख बजेट लागत साझेदारी गर्ने मन्त्रालयले जनाएको छ ।

ओखलढुंगा

सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास कार्यक्रमका लागि ओखलढुंगाका दुईवटा पर्यटकीय क्षेत्र छनोट गरेको छ ।

सदरमुकाम स्थित श्रष्टापार्कमा पर्यटकीय पूर्वाधार विकास र खिजीदेम्बा स्थित थोलेदेम्बामा हिल स्टेशन पूर्वाधार विकासका योजना बजेट सहितको कार्यक्रममा समेटिएका हुन् ।

स्थानीय तह, प्रदेश र संघ सरकारको साझेदारीमा सञ्चालन हुने उक्त योजनाका लागि बजेट समेत विनियोजन भईसकेको छ ।

खोटाङ

संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले खोटाङको तीनवटा आयोजनाहरुको लागि बजेट विनियोजन गरेको छ ।

पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार लागत साझेदारीमा पर्यटकीय गन्तब्य पूर्वाधार विकास गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाको धिप्लुङ झरना पर्यटकीय विकास योजनाका लागि ३ करोड ५० लाख वजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क आयोजनालाई २ करोड ५७ लाख र जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा पर्यटकीय स्थलका लागि २ करोड २९ लाख वजेट विनियोजन गरेको हो ।

मन्त्रालयले २९ माघमा देशभरका २ सय वटा योजनाहरु छनौट गरेर वजेट विनियोजन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार