हुबहु भाका मिलेको दुई गीत (भिडियो)

  हिमाल समाचार
994 Shares

अचेल सर्जक भन्दा स्रोता चलाख छन् । उनीहरुले उठाएका विषयलाई हेर्दा सर्जकले भन्दा बढि स्रोताले लोक गीत बुझे झैँ लाग्छ । बरु, सर्जकहरु अल्मलिएको, जानी जानी बुझ पचाएको जस्तो लाग्छ । त्यहि कुराको आभाष दिलाएको छ, पछिल्लो ‘सिरक सिरानी’ विवादले ।

‘सिरक सिरानी’बोलको दोहोरी गीतको भाका ‘बुटवल बसपार्क’संग हुबहु मिलेको आरोप लागेको छ । ‘बुटवल बसपार्क’बोलको गीत सर्जक तथा गायक पवन वलीले १८ बर्ष पहिले रेकर्ड गराएर बजारमा ल्याएको दोहोरी गीत हो । जुन गीतमा पवन र बिमा कुमारी दुराले स्वर भरेका छन् ।

सुन्दा हुबहु लाग्ने गीतको भाकालाई तुलनाका लागि २ गीतका क्लिप टिकटकमा भाइरल बनेको छ । भाका जुधेको कुरा स्रोताले झक्झकाएपछि ‘बुटवल बसपार्क’का गायक तथा सर्जक पवन ओलीले मुख फोरेका छन् ।

अमेरिकाबाट पवन लेख्छन्, ‘शुभारम्भ म्युजिकबाट बजारमा आएको सिरक सिरानी बोलको गीतको लय र मैले आज भन्दा १८ वर्ष पहिले बुटवल बसपार्क नामक गीतको लय दुरुस्तै मिलेको पाइएकोले सम्बन्धित कम्पनिका मालिक शम्भु कुँवर जी सग सम्पर्क गरि यथार्थ बुझ्दा उहाँले गीतको लय मिलेको स्वीकार गर्नु भएको र यो गीत सम्बन्धि कुनै पनि सर्त मान्न राजी खुसि हुनु भएको छ । तर यस गीतमा लय सृजना गर्ने खेम सेन्चुरीजी रहेकोले निजले मैले भने अनुसार कुनै प्रकारको सहमति नगर्दा सम्म कम्पनिले मात्र गरेको सहमति मेरी लागि स्वीकार्य हुने छैन । तसर्थ, खेम सेन्चुरी लाई सम्पर्कमा रहन आग्रह गर्दछु । हामीले यसरी नै गीत संगीतमा हरेक पक्षलाई वेवास्ता गर्दै जाने हो भने न नेपाली गीत संगीत रहनछ , न श्रष्टा कलाकार रहन्छन् । त्यसैले गीत संगीतको सम्मान गर्न सिकौ र सिकाउ । धन्यवाद !!’

पवनको स्टाटसलाई हेर्दा वितरक कम्पनिले भाका जुधेको स्विकार गरिसकेको छ । तर सिरक सिरानीका भाका सर्जक खेम सेन्चुरी सम्पर्कमा आउन आग्रह गरेका छन् । खेम सेन्चुरीको सृजनामा यसअघि आएको दोहोरी गीत ‘झ्यालमा पर्दा छ’ को भाका पनि पुरानो एक दोहोरी गीतसंग मेल खाएको आरोप लागेको थियो । तर त्यो विवाद यत्तिकै सेलायो ।

गायक पवनका अनुसार त्यो बेला धौलागिरी क्यासेट सेन्टरले बजारमा पठाएको एल्बमको यो मूल भाका हो । त्यस एल्बमको साइड ‘बि’मा ‘सल्यान कपुरकोट’ समाबेश थियो । उनले भने, ‘अक्षतामा दही र बुटवल बसपार्क गीतलाई रिमेक गरेर बजारमा ल्याउने तयारीमा थिए । तर भाका हुबहु आएछ ।’

खेम सेन्चुरीसंग सम्पर्कको प्रयास भइरहेको छ । त्यो बेला गीत बजारमा आउदाका साक्षि अग्रजले समेत भाका हुबहु मिलेको र एरेन्जको कतिपय स्टाइल समेत चोरी भएको बताएका छन् । ‘सिरक सिरानी’टिमले यो विवादलाई चर्काउन नचाहेको स्रोतले बताएको छ । मेलपिलापको बाटो अपनाउदा ‘सिरक सिरानी’गीतको भाका सर्जकको नाममा खेम सेन्चुरीको नाम हटाएर पवन वलीको राख्ने संभावना बढेको उच्च स्रोतको दाबी छ ।

अब हेर्नुछ, यो विवाद कसरी टुंगोमा पुग्छ । भोलीको विकासित रुप र सर्जक खेम सेन्चुरीको कदममा निर्भर रहने देखिन्छ ।

पुरानो गीत

नयाँ गीत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार