‘कोभिशिल्ड’ खोपको १० लाख डोज नेपाल आउँदै

  हिमाल समाचार
49 Shares

काठमाडौँ – कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आइतबार काठमाडौँ आइपुग्दै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट एयर इन्डियाको विमान मार्फत खोपको १० लाख डोज आइपुग्ने छ ।

फागुन ५ गते भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भए अनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।

यसअघि गएको माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले सो खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार आइपुग्ने खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।

यो खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार