पूर्वी पहाडका बिरामीलाई सेवा दिन इलाममा डाइलाइसिस मेसिन जडान

इलाम- पूर्वी पहाडी जिल्लाहरूमै पहिलोपटक इलाममा मिर्गौलारोगीहरूलाई सेवा दिने गरी डाइलाइसिस मेसिन जडान गरिएको छ । नगरपालिका र रोटरी क्लब धरानको सहयोगमा डाइलाइसिस मेसिन जडान गरिएको हो ।

इलाम अस्पतालमा डाइलाइसिस मेसिन जडान भएपछि नियमित रूपमा डाइलाइसिस गराउनुपर्ने मिर्गौलारोगीहरूलाई टाढाको अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । यसका लागि ४३ लाख ७५ हजार रुपैयाँ लगानी भएको छ । मेसिन खरिदका लागि इलाम नगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम रोटरी क्लब धरानको पहलमा जुटाइएको हो ।

मेसिन सञ्चालनका लागि इलाम नगरपालिकाले एकजना जनशक्तिको खर्च व्यहोर्नेछ भने बाँकी जनशक्तिको व्यवस्थापन जिल्ला अस्पताल इलामले गर्नेछ । जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा मेसिन जडान गरिएको छ । डाइलाइसिस गराउने ठाउँ जिल्ला समन्वय समितिले निःशुल्क उपलब्ध गराएको छ ।

मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालिम गराएपछि सेवा सुरु गरिने रोटरी क्लबका कृष्ण शाहले भने । जिल्ला अस्पताल इलामले तालिममा पठाउने जनशक्तिको छनोटसमेत गरिसकेको छ ।

सेवा सुरु भएपछि इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बिरामीले इलामबाटै सेवा पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार