एक्लोपन हटाउन ७ बच्चा जन्माएपछि १ करोड ८० लाख जरिवाना

काठमाडौँ- चीनमा एक जोडीले दुई बच्चाको नीति तोड्दै सात बच्चा जन्माएपछि ठूलो धनराशी जरिवाना तिरेका छन् । साउथ चाइन मर्निङ पोस्टका अनुसार ७ बच्चा जन्माएका जोडीले १ लाख ५५ हजार अमेरिकी डलर अर्थात करिब १ करोड ८० लाख नेपाली रुपैयाँ बराबरको जरिवाना तिरेका छन् ।

३४ वर्षीया व्यापारी महिला ज्हाङ रोङरोङ र उनका ३९ वर्षीय श्रीमानको पाँच छोरा र दुई छोरी छन् । चीनमा दुईभन्दा बढी बच्चा जन्माउन नपाइने नीति छ । त्यो भन्दा बढी बच्चा जन्माएका कारण उनीहरूले ‘सामाजिक सहयोग रकम’ को नाममा जरिवाना तिरेका हुन् । उनीहरूले सरकारलाई रकम नतिरेको खण्डमा पाँच बच्चाले सरकारी परिचयपत्र नै नपाउने व्यवस्था छ ।

दक्षीण पूर्वी चीनमा ज्हाङको स्किनकेयर तथा ज्वेलरी र गार्मेन्टको दुई कम्पनी छन् । उनले साउथ चाइन मर्निङ पोस्टसँगको कुराकानीमा आफूलाई एक्लोपनदेखि दिक्क लागेपछि बच्चाको योजना बनाएको बताएकी छन् ।

श्रीमान बिजनेस ट्रिपको लागि बाहिर गइरहने र ठूला बच्चाहरू पढाइका लागि बाहिरै बस्ने भएकाले धेरै बच्चा जन्माएको उनको तर्क छ । अहिले उनको साथमा साना छोराछोरी साथमै हुन्छन् । सात बच्चाका बुवाआमा बनिसकेको यो जोडीले अब सन्तान नजन्माउने बताएको छ । आर्थिक सुरक्षाको विषयमा सोचेर मात्र आफूहरूले बच्चा जन्माएको ज्हाङको भनाइ छ ।

जनसंख्या अत्यधिक बढेपछि चीनमा १९७९ मा एउटा मात्र बच्चा जन्माउने पाउने नीति लागू गरिएको थियो । २०१५ मा नीतिलाई संशोधन गर्दै दुई बच्चा जन्माउने नीति बनाइयो । एक बच्चा मात्र जन्माउन पाउने चीन सरकारको नीतिका कारण चीनमा जन्मदर घटेपछि संशोधन गरिएको हो ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार