राष्ट्रिय प्रसारण लाईन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

  हिमाल समाचार
4.2k Shares

सोलुखुम्बु – लामो समयदेखि लोडसेडिङ हुँदै आएको सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त बनेको छ । सोलुदुधकुण्ड नगरपालिकाको आवश्यक पहल पछि सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीको विद्युतमा राष्ट्रिय प्रसारण लाईन जोडिए पछि लोड सेडिङ अन्त्य भएको हो ।

६७० किलोवाटको सल्लेरी च्याल्सा लघुजलविद्युत् आयोजनाको बिजुली करिब ४० लाख रकमको लागतमा केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । २०४७ सालमा स्विस सरकारको ३३ प्रतिशत, प्राधिकरणको ३३ र बाँकी स्थानीयबासीको लगानीमा निर्माण गरिएको आयोजनाको बिजुली नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जोडिएको सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले बताए ।

राष्ट्रिय प्रसारण लाईनमा शुक्रबार जडान भएपछि १ महिना सम्म परिक्षण गरिने छ । ग्राहक र कार्यालयमा लोडसडिङ हटेको छ, भने विहान र बेलुका परिक्षण काल भर विद्युत पुरा आपुर्ति गर्न नसक्ने सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक तिवारीको भनाई छ ।

फोटो – आप्पा फोटोग्राफी

आफु निर्वाचित भए देखि नै नगरक्षेत्रमा लोडसेटिङ हटाउने योजना अन्तर्गत प्राधिकरणसँग पटक पटक बैठक गरि ठोस निस्कर्ष निकालिएकै कारण दैनिक ४ घण्टा लामो लोड सेडिङ हटेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए । उज्यालो नगरको परिकल्पना गरिएकाले यसलाई पुर्णता दिन टेवापुग्ने भन्दै मेयर शेर्पाले सल्लेरी च्याल्सा विद्युत कम्पनिको महसुल र राष्ट्रिय प्रसारण लाईनको विद्युत महसुलमा एकरुपता ल्याउन पहल भईरहेको बताए ।

मेयर शेर्पाका अनुसार सल्लेरी च्याल्साको विद्युत खपत नभएको बत्ति प्राधिकरणले लिने र सल्लेरी च्याल्सा विद्युतलाई आवश्यक परेको विद्युत प्राधिकरणले दिने सर्त सहीत पिपिए गरि पिक हिउँद याममा ८.४ रुपैया र बर्खाको समयमा ४.८ रुपैया दर कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार