दलितको हातबाट दही खाएको निहुमा अघोषित बहिष्करणमा परेका टंकप्रसादलाई न्याय देउ : आयोग

  हिमाल समाचार
259 Shares

खोटाङ – राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुमा अघोषित रुपमा सामाजिक बहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय टंकप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन र स्थानीय सरकारलाई आग्रह गरेको छ ।

छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्तरगत जिल्ला समन्वय समितिले २०७६ साल जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुनेक्रममा दलित युवतीको हातबाट दही खाएको निहुमा सामाजिक बहिष्करणमा परेका आचार्यलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउनका लागि आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई शुक्रबार इमेलमार्फत पत्राचार गरेको हो ।

दलितले छोएको खाएको निहुमा आफन्तबाटै अघोषितरुपमा बहिस्कार गरिएको घट्नाका विषयमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए ।

दलित किशोरीको हातबाट दही खाएको निहुमा आचार्य परिवार बहिष्करणमा परेको विषयमा आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरिय टोलीले घरैमा पुगेर अनुगमन गरे लगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञाप्ति जारी गर्दै पीडितले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो ।

जातीय भेदभाव बिरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञाप्तीमा उल्लेख गरेको छ ।

‘जातीय भेदभावजस्तो अमानवीय र अपराधिक कार्य विरुद्धको अभियानमा संलग्न ज्येष्ठ नागरिक तथा अभियान्तालाई समाजले गौरवको रुपमा लिनु पर्नेमा सामाजिक बहिष्कार गर्नु निन्दनीय हो,’ आयोगको विज्ञाप्तीमा भनिएको छ, ‘जातीय छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले पनि यस्तो कार्यलाई दण्डनीय मानेको आयोग स्मरण गराउँदछ ।

घट्नाका सम्वन्धमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न तथा आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको छ ।’ आयोगले सामाजिक कुरिती तथा विभेद विरुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिकमाथि कानूनद्धारा दण्डनीय हुन सक्ने कुनैपनि कार्य नगर्न÷नगराउन स्थानीयवासी एबं राजनीतिक दललाई समेत आग्रह गरेको छ ।

धार्मिक तथा साँस्कृतिक सँस्कारकाक्रममा विभेद

दलितले छोएको दही खाएको आरोपमा अघोषित सामाजिक बहिष्करणको सामना गरिरहेका आचार्यमाथि विभिन्न धार्मिक तथा साँस्कृतिक सँस्कारकाक्रममा विभेद गर्ने गरिएको छ ।

आचार्यले श्राद्ध, कुशे औंसी लगायतका समयमा आफुमाथि विभेद भइरहेको गुनासो गरेका छन् । घट्नाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध टारेको थिए ।

घरमा कुशेऔसीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ । आचार्यलाई गाउँघरमा हुने कतिपय धार्मिक तथा साँस्कृतिक कार्यक्रममा प्रत्यक्षरुपमा बोलाउन छाडिएको छ ।

टंकप्रसादको घरमा गएर धार्मिक तथा साँस्कृतिक कार्य गरे आफुमाथि पनि वहिस्कार हुने त्रासमा पुरोहित उनको घरमा जान हिच्किचाएको अनुमान गरिएको छ । सहभोजमा सहभागी भएपछि गाउँकै कतिपय दाजुभाईले अप्रत्यक्षरुपमा बहिस्कार गर्दै लगेपछि आचार्य अप्ठ्यारोमा परेका हुन् । दलितको हातबाट दही पिएको भनेर कुरा काट्ने र नबोलाउने गरेको सुनिएको स्थानीय युवा नेता गोपालचन्द्र आचार्यले बताए ।

समाजमै अघोषित बहिस्कारको शिकार बनाइएको भन्दै आचार्य न्यायको याचना सहित २०७६ साल भदौ ३ गते १ नम्बर प्रदेशका मूख्यामन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए । सामाजिक बहिस्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मूख्यामन्त्री राईले तत्काल खोटाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिएपनि उनी झमेलामुक्त हुन सकेका छैनन् ।

दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धबिश्वासकाबीचमा जन्मे, हुर्किएका आचार्यले पृथ्वीमा मानवको महिला र पुरुषभन्दा अन्य जात नभएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजित सहभोजमा उत्साहकासाथ सहभागी भएका थिए ।

उनले स्थानीय किशोरी रचना सुनारको हातबाट दही पिए । दलितले दलितकै घरमा तयार पारेको दाल, भात, खसीको मासु, तरकारी, अचार लगायतका परिकार खाए ।

‘यो दही घाँटीमा अड्केको भए मैले खान हुन्नथ्यो,’ दही पिउँदै आचार्यले भनेका थिए, ‘मेटासिटले मरिन्छ, दलितले छोएको खानेकुराले मरिन्न । हामी सबै मानव एउटै हौँ ।’ तर, त्यही सहभागीता उनका लागि झमेलाको कारण बन्न पुगेको छ । पुरातन सोच भएका समाजमा जन्मिए पनि सहभोजमा सहभागी भएकामा आचार्यको तारिफ मात्र भएन । आलोचना र सामाजिक दमनको सामना पनि गर्न परिरहेको आचार्यले बताए ।

सम्मान छ, न्याय छैन

सामाजिक रुपमा समस्यामा परेको आचार्यको मनोवल बढाउन जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छुट्टाछुट्टै सम्मान नै गरेको थियो ।

छुवाछुतमुक्त समाज निर्माणमा अग्रणी भूमीका निर्वाह गरेको भन्दै तेश्रो जिल्लासभाको अवशर पारेर जिल्ला समन्वय समितिले २०७६ असार २० गते र नगरसभाको अवशर पारेर नगरपालिकाले २०७६ साल असार १० गते सम्मान गरेको थियो ।

सहभोजमा सहभागी भएकै कारण आचार्यमाथि सामाजिक विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र खोटाङ दलित विकास मञ्चले २०७६ असार २ गते चार जना विरुद्ध उजुरी दिएको थियो । उजुरीको केही समयपछि जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुबैपक्षबीचमा सहमती गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार