केरुङ नाका भोलिदेखि खुल्ने

  हिमाल समाचार  139 पटक हेरिएको

काठमाडौँ- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ भोलिदेखि खुल्न लागेको छ । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।
रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो ।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो ।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार