लिखु हाईड्रोका कामदारले पारिश्रमिक नपाएको गुनासो

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिकेमा निर्माणाधिन लिखु हाईड्रोपावरमा श्रम गरेका यूवाहरुले पारिश्रमिक नभएको गुनासो गरेका छन् । गत कात्तिकमा हाईड्रोपावरमा काम गरेको एक महिनाको पारिश्रमिक नपाएको सोताङका यूवाहरुले गुनासो गरेका हुन् । काम लगाएका ठेकेदार शंकर बस्नेतले पाउनुपर्ने पारिश्रमिक नदिएको उनीहरुको गुनासो छ ।

एक महिना काम गरेपछि घर फर्कदा बाटो खर्च दिएपनि बाँकी रकम भुक्तानीमा आलटाल गर्दै आएको सोताङका यूवा निर कुमार तामाङले गुनासो गरे । ठेकेदारले श्रमिकको फोन समेत उठाउन छाडेको श्रमिक यूवाहरुको गुनासो छ ।

कोरोना महामारीको समयमा लिखु हाईड्रोमा काम गर्न पुगेका यूवाहरुले एक महिना मात्र काम गरेका थिए । कोरोना परीक्षण गरेको रकम समेत श्रमिकले व्यर्होनुपर्ने अवस्था आएपछि कामबाट बाहिरएका ५ जना यूवाहरुले करिब ६० हजार पारिश्रमिक लिन बाँकी रहेको छ । यदि पिसिआर परीक्षणको खर्च व्यहोर्नु नपर्ने अवस्थामा ठेकेदारबाट ८० हजारको हाराहारीमा रकम लिनुपर्ने श्रमिक यूवाले हिसाव देखाएका छन् ।

काम गर्न थालेको एक महिनापछि पिसिआर परीक्षण अनिवार्यको नाममा लाद्ने काम गरेको यूवाहरुले बताए ।

उनीहरु मासिक २० हजार पारिश्रमिक पाउने मौखिक सहमतीमा हाईड्रोमा काम गर्न गएका थिए । श्रमिक यूवाहरुको गुनासोको सन्दर्भमा बुझ्न ठेकेदार बस्नेतलाई सम्पर्क गर्दा फोन उठेन । लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले कम्पनीबाट रकम निकासामा भएको ढिलाईले गर्दा श्रमिकको पारिश्रमिक भुक्तानीमा समस्या भएको हुनसक्ने बताए ।

श्रमिकको पारिश्रमिक दिलाउन जनप्रतिनिधिको नाताले सहजीकरण गर्ने अध्यक्ष बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार