वर्ष दिनपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल

मंगलबार साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्दै

काठमाडाैँ- नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ‘थ्री नेसन कप’ मंगलबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान र बंगलादेश सहभागी हुँदै छन् । मंगलबार साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्दै छन् ।

किर्गिस्तानले प्रतियोगितामा आफ्नो ओलम्पिक (यु–२३) टोली पठाएको छ भने नेपाल र बंगलादेशको सिनियर टोली नै प्रतिस्पर्धामा उत्रिनेछ । बंगलादेशले आफ्नो टोलीमा ६ नयाँ खेलाडीलाई समावेश गरेको जनाएको छ । यद्यपि, उसले आफ्नो टोलीलाई राष्ट्रिय टोली भनेकाले नेपालसँगको खेललाई विश्व फुटबल महासंघ (फिफा)ले मान्यता दिएको छ ।

यो खेलले कम्तीमा कोरोना महामारीपछि रंगशालामा अन्तर्राष्ट्रिय फुटबलको पुनरागमनको संकेत गर्नेछ । रंगशालामा मंसिर ०७६ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलको प्रतिस्पर्धा भएदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएको छैन ।

दशरथ रंगशालामा नेपाली सिनियर राष्ट्रिय टोलीले प्रतिस्पर्धा नगरेको त अझ धेरै वर्ष भइसकेको छ । ०७२ को विनाशकारी महाभूकम्पले ध्वस्त बनेको दशरथ रंगशालाको पुनर्निर्माणमा धेरै वर्ष लाग्यो । सरकारले १३औँ सागलाई लक्षित गरी रंगशालाको निर्माण गरेको हो ।

त्यसैले आमन्त्रित प्रतियोगिता नै भए पनि रंगशालामा विदेशी टोलीसँग प्रतिस्पर्धा गर्न पाउँदा नेपाली खेलाडी उत्साहित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार