सुनकोसीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता

  हिमाल समाचार
427 Shares

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने सुनकोसीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ५ दुर्छिमको बतासेघाट ख्रोप्पा र लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर १ बाँसबोटेको कुनईस्थित सुनकोसीमा पक्की पुल निर्माणका लागि गत १३ चैतमा ठेक्का सम्झौता भएको हो । २१ करोड रुपैयाँ लागतमा आगामी ३ वर्षभित्र पूरा गर्ने गरी महावीर इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन काठमाडौंले २०० मिटर लम्बाइको पुल निर्माण ठेक्का सम्झौता गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।

त्रि–धार्मिक स्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक खण्डमा पर्ने पुल निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा सरकारले बजेट विनियोजन गरेको थियो । खोटाङलाई प्रदेश १ र प्रदेश २ को राजधानीसँग जोड्ने द्रुत मार्ग खोल्ने मोटरेबल पुल निर्माणको कामले हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाका स्थानीयको सदियौँदेखिको पुल बनाउने सपना साकार हुन लागेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

सुनकोसीको दुवै किनारतर्फ सडक निर्माण भएको वर्षौं बिते पनि बतासेघाटमा पक्की पुल अभाव छ । पक्की पुल अभावमा हाल स्थानीय झोलुंगे पुलमार्फत सुनकोसी वार–पार गर्दै आएका छन् । सुनकोसीमा पुल बनेपछि हाल पुर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–कुनाइ–बतासेघाट हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्नेछ ।

यस्तै, लिम्चुङबुङ गाउँपालिका, ताम्ली गाउँपालिका र रौतामाई गाउँपालिकाका १८ वडाका स्थानीयका लागि काठमाडौं आउजाउ गर्ने छोटो दूरीको सडक खुल्ने अध्यक्ष राईले बताए । तराईबाट सीधै धार्मिक तथा पर्यटकीय स्थल हलेसी, ओखलढुंगा हुँदै खुम्बु–सगरमाथासम्म पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने भएकाले कुनई र बतासेघाट जोड्ने पक्की पुललाई अर्थपूर्ण मानिएको छ । पालिकाखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार