नेपाल बैँक र सोलुदुधकुण्ड नगरपालिका बिच सम्झौता

  हिमाल समाचार
868 Shares

सोलुखुम्बु – सहुलियतपुर्ण कर्जा प्रवाहका लागि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र नेपाल बैँक लिमिटेड बिच सम्झौता भएको छ ।

नगरपालिका भित्र कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन गर्नका लागि शुक्रबार द्धिपक्षिय सम्झौता गरिएको हो । सम्झौतामा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र नेपाल बैँक लिमिटेडका प्रदेश नं १ का प्रमुख प्रकाश भट्टले हस्ताक्षर गरेका छन् ।

नगरपालिकाले आब्हान गरेको कृषि तथा पशुपालन व्यवसाय प्रर्वद्धन प्रस्तावलाई सहुलियतपुर्ण कर्जाका लागि सिफारिस गर्ने र कृषकको व्यवसायिक योजनाको आधारमा बैँकले कर्जा प्रवाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

मेयर शेर्पाले कृषि व्यवसाय प्रर्वद्धनमा सहुलियतपुर्ण कर्जा प्राप्तीले ढाडस थप्ने र व्यवसायलाई अझ व्यवसायिक बनाउन भूमिका खेल्ने बताए । उनले भने, ‘नेपाल बैँकसंगको सम्झौताले कोरोना कहर बिचमा रोजगारी गुमाएर गाउँ फर्केकालाई कृषि व्यवसाय संचालनका लागि वातावरण सहज बनाउने आशा राखेको छु ।’ बैँकले प्रवाह गरेको कर्जा संकलनका लागि पनि नगरपालिकाले सहजीकरण गर्ने उनको भनाई छ ।

नेपाल बैँक लिमिटेडका प्रदेश नं १ प्रमुख प्रकाश भट्टले कर्जा प्रवाहको ५ प्रतिशत रकम नेपाल सरकारको अनुदानबाट व्यवस्थापन गरिने गरि सहुलियत दरमा कर्जा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए । व्यवसायिक योजनाको आधारमा व्यवसाय गरिरहेका वा व्यवसाय शुरु गर्न चाहने महिला तथा पुरुषलाई कर्जा प्रवाह गरिने उनाके भनाई छ ।

‘हामी नाफा मात्रै हेर्दैनौ । सेवा भाव पनि राख्छौ । त्यसैले हामीले प्रवाह गरेको सहुलियतपुर्ण कर्जाबाट कृषि तथा पशुपालन सम्बन्धी व्यवसाय प्रर्वद्धन होस् भन्ने चाहन्छौ ।’उनले भने । महिला उद्यमशिलताको बढवाका लागि पनि सहुलियतपुर्ण कर्जा फलदायी बन्ने बैँकका प्रदेश प्रमुख भट्टको भनाई छ ।

सोलुदुधकुण्ड नगरपालिकाले यसअघि राष्ट्रिय बाणिज्य बैँक सल्लेरी शाखा संग पनि सहुलियतपुर्ण कर्जा प्रवाहका लागि सम्झौता गरिसकेको छ । कृषकहरुको प्रस्तावना पाइपलाइनमा रहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार